‘प्रधानमन्त्रीले बोल्ने होइन जवाफ दिने हो’ : सभापति देउवा

sherbdr Deuba
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार। प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएपछि दुबै पक्षले आफू सही भएको तर्क गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सरकार र प्रतिपक्षीबीचको गलफतीले सदन नै स्थगित भएपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्रीले बोल्ने नभई प्रतिपक्षीलगायतले उठाएका विषयको जवाफ दिने तर्क गरे।

प्रधानमन्त्रीले बोली सकेपछि आफु बोल्नुको कुनै तूक नहुने भन्दै देउवाले सदनमा जहिले पनि विपक्षीले पहिले बोल्ने हो, सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताए। उनले भने ‘प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो। पहिले उहाँले बोलिसकेपछि के बोल्ने मैले? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज। जहाँपनि विपक्षीले पहिले बोल्ने हो। जवाफ प्रधानमन्त्रीले दिने हो। सुरुमा कहाँ बोल्छन्?’

मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि उनले भने, प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे। सत्ता पक्षीय नेताहरुले भने प्रधानान्त्रीले संसदलाई सम्बोधन गर्छु भन्दा बोल्न नदिनु राम्रो नभएको प्रतिक्रिया दिएका छन्। नेकपा नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिएर ठीक नगरेको बताए।

उनले कांग्रेसले संसदीय परम्परा नमानेर गलत नजिर बसाल्न खोजेको आरोप लगाए। उनले भने, ‘संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोल्छु भनेपछि प्रतिपक्षीले सुन्नुपर्छ। त्यसपछि प्रतिपक्षी दलले आफ्ना धारणा राख्न पाउँछ।’