काठमाडौं, ३ असार । नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित अध्यक्ष रवीन्द्र खड्कालाई पहिलो बैठकमै झट्का लागेको छ । खड्कालाई संघभित्र मनोनयनका विषयमा दबाब आएपछि यस्तो भएको हो।
कोषाध्याक्ष बाहेक प्यानल नै निर्वाचित भएपनि अध्यक्ष खड्कालाई संघको विधानले दिएको प्रत्यायोजित अधिकार प्रयोग गर्न खोज्दा कार्यसमितिका पदाधिकारी र सदस्यहरुले आफू निकटकालाई मनोनयन गर्न दबाब दिएको बताइएको छ ।
निर्वाचित भएपछिको आइतबार बसेको पहिलो बैठकमा केही पदाधिकारी र सदस्यहरुले क्षेत्राधिकार नाघेर आफू अनुकलका व्यक्तिलाई उपाध्यक्ष र सदस्यमा मनोनित गर्न अध्यक्ष खड्कामाथि दबाब दिएका थिए । ‘एकजना उपाध्यक्ष र तीन जना सदस्य मनोनित गर्ने अधिकार संघको विधानले अध्यक्षमा दिएपनि बैठकमा अन्य सदस्यको अवरोधका कारण निर्णय हुन सकेन’ एक सदस्यले भने ‘निर्णय लिन नसकेपछि अध्यक्षले अर्को बैठकमा निर्णय गरौंला भन्दै अन्य प्रस्तावतिर बैठक मोडे ।’
संघको चुनाव बहिष्कार गर्दै उम्मेदवारी समेत नदिएका नेकपा निकट मानिने कलाकार उत्तम केसी र विमला केसीलाई कार्यसमितिको उपाध्यक्षमा मनोनित गर्नुपर्ने दबाब आएका कारण पनि अध्यक्ष खड्काले कुनै निर्णय लिन नसकेको ती सदस्यको भनाई रहेको छ ।



लाेकपाटी न्यूज

