भारतमा मन्त्री र सांसदले लिए संस्कृत भाषामा सपथ

indian-flag-photo
लाेकपाटी न्यूज
काठमाडौं। भारतको लोकसभा सदस्यहरुको आंशिक सपथ सकिएको छ। तीन दिनसम्म चल्ने सपथ ग्रहण समारोहको पहिलो दिन सोमबार मात्रै एक दर्जनभन्दा बढी लोकसभा सदस्यहरुले संस्कृत भाषामा सपथ लिएका छन्।
यसरी सपथ लिनेमा केन्द्रीय मन्त्री सहित विभिन्न सांसदहरु रहेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार यो संख्या २०१४ को भन्दा धेरै हो। केन्द्रीय स्वास्थ्य मन्त्री हर्ष वर्धन तथा श्रीपद् येशो नाइकका अलावा अश्विनी कुमार चौबे, प्रताप चन्द, सारंगी, मीनाक्षी लेखी, रमेश चन्द्र विधूडी, सि आर पाटिल, अरविन्द कुमार शर्मा, सुनीता दुग्गल, दूबी सिंह चौहान, पर्वतभाइ पटेल, डा विरेन्द्र कुमार लगायत कैयौं सदस्य छन्।
१७ औं लोकसभा चुनावको पहिलो सत्र आरम्भ भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहसहित मन्त्रिमण्डलका सबै सदस्य एवं विपक्षका प्रमुख नेताहरुले सोमबार सदनको सदस्यताको सपथ लिएका हुन्।
यसअघि नेपाल र भारतका संस्कृत भाषाप्रेमीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संस्कृत भाषामा शपथ ग्रहण गर्नका लागि आग्रह गरेका थिए। नेपाल र विशेषगरी भारतका समेत संस्कृत भाषालाई माया गर्नेहरुले एकीकृत भएर प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जालबाट यस्तो दबाब दिएका हुन्। संस्कृत भारती लगायतका विभिन्न संस्कृत भाषा सम्बन्धी काम गर्ने विभिन्न संस्थाले सामाजिक सञ्जालमा रणनीतिक रुपमा नै यसरी दबाब दिएका छन्।
मोदीले आफ्नो सपथ ग्रहणमा विभिन्न देशका सरकार प्रमुखहरुलाई बोलाउने तयारी गरिरहेका छन्। यस्तो अवस्थामा उनले संस्कृत भाषाबाट सपथ ग्रहण गरेको खण्डमा संस्कृत भाषाको विकास र उत्थानका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
हिन्दू धर्म र संस्कृत भाषालाई समेत माया गर्ने प्रधानमन्त्री रहेको भन्दै सामाजिक सञ्जालमा मोदीलाई ईंकित गरेर विभिन्न किसिमका ट्रोलहरु समेत तयार पारिएको छ। कतिपयले त संस्कृतमा उनले गर्ने सपथ नै तयार पारेर उनलाई ईंकित गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।