काठमाडौं, १ असार । प्रहरीले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
विशेष अभियान सञ्चालन गरेर सवारी साधनमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरेको हो। काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधनमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई समातिएको थियो।
चोर समात्न यातायात व्यवसायीको सहकार्यमा सादा पोशाकको प्रहरी खटाइएको थियो। पक्राउ परेका मध्ये अधिकांश बस तथा माइक्रो बसमा यात्रुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल र गरगहना चोर्दै गर्दा समातिएका थिए।
कानूनतः पहिलो पटक पाकेटमार गर्नेलाई एक महिना जेल र विगो बराबरको जरिवाना हुन्छ। दोस्रो पटक पुनः सोही कार्यमा संलग्न भए दुई महिना कैद र विगो बराबरको जरिवाना हुन्छ। पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।



लाेकपाटी न्यूज

