काठमाडौँ, १ असार। टायर पञ्चर भएर हैरान हुनुहुन्छ ? अथवा ट्युबबिनाको टायरमा राखिएको रासायनिक तरल पदार्थ चुहिएर यात्राकै क्रममा समस्यामा पर्नुभएको छ ? सवारीसाधन चलाउने जो कोही यो समस्याबाट पक्कै पनि एक न एक समयमा पीडित हुनुभएको छ।
त्यति मात्र होइन, तीव्र गतिमा चलेको सवारी साधनको टायर अचानक पड्कँदा ठूला दुर्घटनामा धेरैको ज्यान पनि जाने गरेको छ। फेरि हाम्रोजस्तो न्यून गुणस्तरका सडकमा जहाँ र जतिबेला पनि टायर पड्किने समस्या पनि हुने गरेको छ। अनि टायरमा हावा हाल्न पनि सितिमिति पाउने सुविधा हुँदैन।
तर, अब एउटा सुखद समाचार आएको छ। मिचेलिन र जनरल मोटर्सले अब हावा नै हाल्नु नपर्ने टायर बनाएर प्रदर्शनीमा ल्याएको छ। नयाँ पुस्ताको हावाबिनाको टायरले चालकको दुःख मात्र होइन, टायरकै कारण दुने वातावरणीय प्रदूषण पनि कम गर्ने जनाइएको छ।
विशिष्ट पञ्चर प्रतिरोधी टायर प्रणाली (युनिक पञ्चर प्रुफ सिस्टम, अप्टिस) नाम दिइएको नवीनतम् प्रविधि अहिले प्रारम्भिक चरणमा नै रहेको छ। तर, सन् २०२४ सम्ममा ग्राहकले यसको उपयोग गर्न पाउने जनाइएको छ। जेनरल मोटर्सका वरिष्ठ विश्वव्यापी खरिद तथा आपूर्ति शृङ्खला उपाध्यक्ष स्टिम किएफरले भने, अप्टिसको वर्तमानबाट जनरल मोटर्स उत्साहित भएको छ। नयाँ इतिहास ल्याउन हामी मिचेलिनसँगको सहकार्य गर्न तम्तयार छौँ।
परम्परागत रबर टायरभन्दा भिन्न अप्टिस हावारहित टायरले पड्कने र हावा खुस्कने समस्या निराकरण गर्दछ। यसले टायरकै कारण यात्रुमा आइपर्नसक्ने जोखिम घटाउनुका साथै टायरमा केही भइ पो हाल्छ कि भनेर नियमित जाँच गरिरहनुपर्ने अवस्थाको मानसिक तनावसमेत कम गरिदिन्छ।
अप्टिसले टायरको कुल उत्पादन सङ्ख्या घटाएर त्यसबाट उत्पन्न हुने रद्दी टायर घटाउँछ र दिगोपनलाई प्रवद्र्धन गर्दछ साथै टायर उत्पादनमा लाग्ने ठूलो परिमाणको ऊर्जा पनि कम गरिदिन्छ। यसो हुँदा टायरकै कारण मुद्रास्फीतिमा आउने आरोह वा अवरोहको अन्त्य गरिदिन्छ।
मिचेलिनका प्रमुख कार्यकारी अधिकृत फ्लोरेन्ट मेनेगाउक्सले भने, अप्टिसले भविष्यको दिगो गतिशीलताको मिचेलिनको परिकल्पनालाई हासिल गर्न सकिने सपना बनाइदिएको छ। जनरल मोटर्सजस्तो रणनीतिक साझेदारसँगको सहकार्यमा हामी भविष्यलाई अहिले नै हासिल गर्नेछौँ। अप्टिस दिगो गतिशीलताका लागि विकास र अनुसन्धानको मिचेलिनको चारखम्बे परिकल्पना रहेको छ।’
यस टायरले कसरी काम गर्दछ र केबाट यो बनाइन्छ भन्ने विस्तृत विवरण भने दिइएको छैन। दुवै साझेदारले हावारहित टायरको प्राविधिकि पक्षबारे विस्तृत जानकारी दिएका छैनन्। बारम्बार सोधिने प्रश्नको उत्तरसम्बन्धी पुस्तिकामा मिचेलिनले दुईपाङ्ग्रे सवारीको अर्को सुरक्षित नयाँ प्रविधि ट्विल टेक्नोलोजीसँग डिजाइनबारे केही सूचना साझेदारी गरेको जनाएको छ।



लाेकपाटी न्यूज