हस्तलेखन प्रतियोगिताका विजेता पुरस्कृत

Prize
लाेकपाटी न्यूज

काठमाडौं, २५ जेठ। बालविकास एनसिमासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ।

शनिबार रिपोर्टर्स क्लबमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई पुरस्कार वितरण’ कार्यक्रममा एन.सि.मासले यस्तो धारणा राखेको हो। उक्त संस्थाले नेपालमा विगत १५ वर्षदेखि हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे अध्ययन तथा अनुशन्धान गर्दै आएको छ। साथै, उक्त संस्थाले देशव्यापी रुपमा हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे प्रशिक्षण कार्यक्रमपनि सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा बोल्दै एन.सि.मासका अध्यक्ष तेजु नेपालले अक्षर मनोविज्ञानबारे आफ्नो धारणा राखेका थिए। उनले हरेक व्यक्तिको अक्षरले उसको ५ हजार चरित्र निर्धारण गर्न सकिने कुरा सुनाए। नेपालले भने,‘यो विद्यार्थीलगायत सम्पूर्णलाई उपयोगी हुनेछ।’

त्यस्तै, उनले विश्वव्यापी रुपमा रहेको अबाकसबारे पनि आफूहरुले विभिन्न कार्यक्रम तथा प्रशिक्षण दिँदै आएको सुनाए। उनले भने,‘यो कार्यक्रमले विद्यार्थीहरुको केन्द्रिकृत मस्तिष्क र भिजुल्याईजेशनका कारणले गर्दा अध्ययन तथा अन्य कुरामा सकारात्मक प्रभाव देखिन्छ।’

कार्यक्रममा राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई विजेता बनेका विद्यार्थीहरु अध्ययनरत विद्यालयका प्रधानाध्यापकले नै पुरस्कार वितरण गरेका थिए। उक्त प्रतियोगितामा सिनियरतर्फ प्रथम आरोनी स्कुलकी छात्रा नाजमिन खातुनले जितेकी हुन्। उनलाई ८ हजार राशिसहित आज पुरस्कृत गरिएको हो।

त्यस्तै, सिनियरतर्फ दोस्रो भएकी नेश्नल पिस ईंग्लिश बोर्डिङ स्कुलकी छात्रा शर्मिना मानन्धरलाई चार हजार राशिसहित पुरुकृत गरिएको हो। सिनियरतर्फ तेस्रो भएकी ईडेन गार्डेन ईंग्लिश बोर्डिङ स्कुलकी छात्रा उषा राईलाई दुई हजार राशिसहित पुरस्कृत गरिएको छ।

जुनियरतर्फ आर्शिवाद बोर्डिङ स्कुलकी छात्रा सांग्या गौतम प्रथम भईन्। उनलाई १५ हजार राशिसहित पुरस्कृत गरिएको हो। त्यस्तै, दोस्रो भएकी टोडिलर्स जोनकी छात्रा सहनशिका श्रेष्ठलाई सात हजार पाँच सय राशिसहित पुरुकृत गरिएको छ। तेस्रो हुने सौर्यदिप स्कुलकी छात्रा सुम्निमा घिमिरेलाई पैत्तिस सय राशिसहित पुरस्कृत गरिएको छ।

कार्यक्रममा सिनियर तथा जुनियर दुवै तर्फ प्रथम हाँसिल गर्ने विद्यालयका प्रिन्सिपलहरुले एन.सि.मासले धेरै राम्रो काम गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। आरोनी स्कुलका भाईस प्रिन्सिपल होमनाथ उपाध्यायले एन.सि.मासले देशव्यापी रुपमा आयोजना गरेको उक्त प्रतियोगिता फलदायी बनेको धारणा राखे। उनले भने, ‘यो प्रतियोगितामा सिनियरतर्फ हाम्रो विद्यालयकी छात्राले प्रथम स्थान हाँसिल गरिन्, यो हाम्रो लागि खुशीको कुरा हो।’

उपाध्यायले विद्यार्थीहरुको लागि अक्षर गहना भएको भन्दै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए। उक्त प्रतियोगितामा ७० विद्यालयले भाग लिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्