रंगशाला निर्माणमा सुरक्षा अभाव छैन : प्रहरी (विज्ञप्ति)

chitwan
लाेकपाटी न्यूज

चितवन, २५ जेठ। प्रहरीले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरक्षाको अभाव नभएको बताएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले असुरक्षाका कारण रंगशाला निर्माणको काम रोकिएको भन्नु गलत भएको बताए।

उनले जिल्ला प्रशासन कार्यालयलगायत जिल्ला स्थित सबै सुरक्षा निकायहरु समेतबाट निरन्तर अनुगमन र सुपरीवेक्षणको व्यवस्था मिलाइएको बताए। रंगशालाको सुरक्षाका लागि सोही स्थानमा बेस रहने गरी हाललाई प्रहरी नायव निरीक्षकको कमाण्डमा २४ सै घण्टा प्रहरी टोली खटाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले निर्माणधीन रंगशाला राज्यकै गौरव बोक्ने अन्तर्राष्ट्रियस्तरको भएकोले यसको निर्माणदेखि सञ्चालनसम्मको सम्पूर्ण कार्यमा सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएको छ। रंगशाला निर्माणमा शान्ति सुरक्षाको जिम्मेवारीलाई अवसर तथा प्रमुख दायित्वका रुपमा लिएको भन्दैं जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय चितवन अत्यन्त सजग र सचेत छ।’ सुरक्षाका कारणले रंगशाला निर्माणको भविष्यप्रति प्रश्न उठाई घटनालाई अतिरञ्जित नगर्न पनि प्रहरीले अपिल गरेको छ।’

                                         

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्