विभिन्न अभियोगमा १२ जना पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, २३ जेठ। इण्डियन प्रिमियर लिग क्रिकेट, विश्वककप क्रिकेट, च्याम्पियनसिप, फुटवल समेतका खेलमा सट्टावाजी गरी अ‍ैवध रुपमा रकम असुली गर्ने ३ जना पक्राउ परेका छन्। विभिन्न व्यक्तिलाई हारजितको बाजी राख्न लगाई सट्टावाजी गरी अवैध रुपमा रकम असुली गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे घर भएका ३६ वर्षीय बज्र प्रकाश लामा, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे घर भएका ३० वर्षीय विद्युत प्रकाश लामा र काठमाडौं महानगरपालिका १५ रानीवन बस्ने रामेछाप लिखु गाउँपालिका २ सैपु घर भएका ३३ वर्षीय उमेश कार्की रहेका छन्।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट सट्टावाजीमा प्रयोग भएको १ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ।

यस्तै पर्सामा हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकस्थित सडकबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई नगद २ लाख ९९ हजार ५ सय रुपैयाँ र मोबाइल २ थानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बारा सिमरा उपमहानगरपालिका ७ पहाडीटोल बस्ने २२ वर्षीय रोशन साह र भारत बिहार मोतिहारी बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन्। सो ठाउँमा हुण्डी कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनीहरूलाई स्रोत खुलाउन नसकेको उक्त नगद र हुण्डी कारोबार उल्लेख भएका २ थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यस्तै बाग्मती नगरपालिका १२ बाट नियन्त्रित लागूऔषध नाईट्रोजेपाम ८५ ट्याव्लेट, लागूऔषध गाँजा करिब ५० ग्रामसहित २ जना पक्राउ परेका छन्। उनीहरुलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बारा कोल्वी नगरपालिका ४ घर भएका १८ वर्षीय सवीन रानाभाट र २३ वर्षीय सबिन वस्नेत रहेका छन्। ईलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलीले बा २४ प ५०७३ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

सुनसरीको रामधुनी नगरपालिका १ झुम्का बस्ने २६ वर्षीय राजु भन्ने राजेन्द्र चौधरीलाई नियन्त्रित लागूऔषध नाइट्रोसन ४० चक्की र स्पास्मो प्रोक्सिभोन ५ क्याप्सुलसहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ। शंकास्पद अवस्थामा हिडडुल गरिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

यस्तै बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २६ वर्षीय जनक मगरलाई कुटपिट गर्नुका साथै प्रहरीलाई समेत हातपात गर्न खोज्ने ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा निलकण्ठ नगरपालिका ३ बस्नेहरु २५ वर्षीय सुजन लामा, २० वर्षीय बिमल शाह ठकुरी, २७ वर्षीय काजी शाक्य, २३ वर्षीय समिर थापा मगर र ३४ वर्षीय राधाकृष्ण भण्डारी रहेका छन्।

बेनिघाट रोराङ गाउँपालिका ३ स्थित मलेखु ताल्ती कच्ची सडकमा कर उठाउने ढाटमा काम गर्ने निज राधाकृष्ण भण्डारीको नेतृत्वमा रहेको उक्त समूहले खाजा खाएको फोहर किन नफालेको भन्ने बिषयलाई लिएर धारिलो हतियार देखाई कुटपिट गर्दा जनक मगर घाइते भएको र केही वृद्ध, महिला, केटाकेटीलाई सडक अवरोध गरी गाली गलौज समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले कुटपिट गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरी टोलीमाथि आक्रमण गर्दा १ जना प्रहरी कर्मचारीको पोशाकसमेत च्यातिएको छ। घटनामा संलग्न व्यक्तिहरुको साथबाट १ थान चक्कु बरामद भएको छ। उनीहरुमाथि ज्यान मार्ने उद्योग तथा अभद्र व्यवहार मुद्दा अन्तर्गत प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्