बैंकले शंकास्पद भन्दै गर्‍यो गायिका आनीको १५ करोड ‘रोक्का’

Ani Chöying Drölma
लाेकपाटी न्यूज

काठमाडौं, २१ जेठ। चर्चित गायिका आनी छोइङ डोल्माले स्रोत नखुलेको शंकास्पद पैसा भित्र्याएको भन्दै एक बाणिज्य बैंकले उक्त पैसा रोक्का गरेको छ। बैंकिङ प्रणालीबाटै विदेशबाट ल्याइएको पैसाको स्रोत नखुलेपछि मेगा बैंक नेपालले पैसा रोक्का गरेको हो।

आनीले हङकङको एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत एक व्यक्तिबाट १५ कराेड नेपाल ल्याएकी थिइन्। बैंकमा आनीका नाममा एकै पटक ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगाले राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइलाई खबर गरेको थियो।

कुनै पनि ग्राहकको कारोबार अस्वभाविक देखिएमा बैंकले स्वतस् राष्ट्र बैकमा रहेको इकाइलाई खबर गरिदिनुपर्छ। इकाइले प्रारम्भिक सूचना विश्लेषण गर्छ। त्यसमा उसलाई शंकास्पद लागेमा थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण विभागलाई जिम्मा दिन्छ। अहिले विभागले पैसाका बारेमा अनुसन्धान गरिरहेको छ।

यो घटना एक बर्षअघिको हो। तर यसलाई बैंक तथा विभाग सबै पक्षले गोप्य राखेका छन्। उच्च राजनीतिक तथा सरकारी तह, राष्ट्र बैंककै वहालवाला तथा पूर्व वरिष्ठ अधिकृतहरुले यो पैसा जसरी पनि खुलाउनु पर्ने भन्दै दबाब बनाएका कारण गोप्य राखिएको हो।