गर्भदेखि नमरुञ्जेलसम्म सामाजिक सूरक्षा

Budget
लाेकपाटी न्यूज

काठमाडौं, १५ जेठ। सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेको छ। अघिल्लो वर्षको बजेटमा व्यापक असन्तुष्टि देखिएपछि यसपटक सरकारले लोकप्रिय बजेट अघि सारेको हो।

सङ्घीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लोककल्याणकारी राज्य निर्माण गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सबै नागरिकलाई गर्भावस्थादेखि वृद्धावस्था सम्मको जीवनचक्रलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गरिने बताए।

गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण, बाल्य अवस्थामा खोप, पोषणयुक्त आहार र बाल संरक्षण अनुदान, विद्यार्थी अवस्थामा निःशुल्क शिक्षा र छात्रवृत्ति, वयस्क अवस्थामा रोजगारी सुरक्षा र वृद्ध अवस्थामा सामाजिक सुरक्षा भत्ता एवं निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने गरी सामाजिक सुरक्षाका कार्यक्रम अघि बढाइएको छ।

सरकारले चालू आर्थक वर्षदेखि नै आफ्ना नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको’ शुभारम्भ गरिसकेको छ।