काठमाडौं, २४ वैशाख। बेलायतमा पनि २५६३ औं बुद्ध जयन्ती मनाइने भएको छ। यहि मे महिनाको १८ तारिखमा बेलायतको रेडिङमा बुद्ध जयन्ती मनाइने भएको हो।
थाउजेन्ड्स बुद्ध युकेको आयोजनामा रेडिङको क्ववार्सम रिभरमेड हलमा बुद्ध जयन्ती गर्ने कार्यक्रम रहेको छ। आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मेजर समुन्द्र गुरुङका अनुसार बुद्धजयन्ती भव्य रुपमा सम्पन्न गर्न विभिन्न तयारीहरु भइरहेका छन्।
नेपाल तथा बेलायतबाट लामा गुरुहरु सांगे रंग्जुंग खेन रिन्पोछे, ख्याम्पो ग्यालिजय शेर्पा, लोपें लामा फुर्वा तेन्जी शेर्पा, लामा खेन लोब लगायतले पुजाआजा गराउने कार्यक्रम छ। थाउजेन्ड्स बुद्ध युकेमा अहिले संस्थापक सदस्य र साधारण सदस्यहरु गरि कुल तीनसय नाघिसकेको छ।
कार्यक्रमलाई सफल पार्न अरु स्थानिय नेपाली संघ संस्थाहरुसँग पनि सहकार्य भइरहेको छ। ग्रेटर रेडिङ नेपाली समाज, रेडिङ भूतपूर्व गोरखा, गोरखा आर्मी पूर्व सेवाकर्ता संस्था, रेडिङ तमु समाज, मगर समाज रेडिङ, रेडिङ तामाङ समाज, किराँत समाज रेडिङ, पर्सा पुच्छा समाज रेडिङ, क्षेत्रि समाज रेडिङ, ठकुरी समाज रेडिङ, म्हाने संघ रेडिङ, रेडिङ आमा समुह र घान्द्रुक आमा समुह लगायतको कार्यक्रममा सहकार्य छ।
कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ। कार्यक्रमका सहभागी सबै पाहुनालाई निशुल्क शुद्ध साहाकारी खानाको व्यवस्थाका साथै गुरुको दर्शन गराइने छ।



लाेकपाटी न्यूज

