काठमाडौं, १७ वैशाख । कागेश्वरी मनहरा नगरपालिका ९ स्थित खहरे बस्ने कुमार बोहराको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५७ वर्षीय नवराज विष्ट समेत ३ जनालाई ३ बुक तास र नगद १ लाख १० हजार रुपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सो ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै नागरिकता बनाइदिन्छु भनी आश्वासन देखाई नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा इनरुवा नगरपालिका ३ बस्ने लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । चेत प्रसादले सोही ठाउँस्थित जिल्ला प्रशासन कार्यालय अगाडि ईटहरी ९ बस्ने ४६ वर्षीया महिलालाई नागरिकता बनाईदिन्छु भनी उक्त रकम लिँदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कीर्तिपुर बस्ने दाङ तुल्सीपुर ५ घर भएका २४ वर्षीय ललित वलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २९ डिल्लीबजारस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वलीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
त्यस्तै ललितपुर शेर्पा टोल बस्ने सिन्धुलीकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बस्ने पाँचथर फिदिम नगरपालिका ५ घर भएका २४ वर्षीय रमेश लिम्बु र सोही ठाउँ बस्ने उदयपुरका २४ वर्षीय विबेक मैनालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई गोदावरी नगरपालिका ३ स्थित फुल्चोकी जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौं ताहाचल बस्ने काभ्रे घर भएका १९ वर्षीय सुजन तामाङसहित ४ जनालाई करिब १ सय ३० ग्राम मेटाफिटामिन आइस नामक लागूऔषध र बा।९१ प १९६७ नम्बरको स्कुटर सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ छाउनीस्थित द फुड हेभन रेष्टुरेण्टमा अवैध लागूऔषध बिक्री वितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका १५ ताहाचलबाट कालिमाटी घर भएका ३२ वर्षीय शिशिर भन्ने अनिल भुजेल र सिनामंगल घर भएका ४२ वर्षीय रञ्जित तिवारीलाई लागूऔषध मेटाफिटामिन आइस करिब ३० ग्राम, नगद ८ हजार ५ सय र डिजिटल तराजु १ थानसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित अवैध लागूऔषध बिक्री वितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै सिराहाको लहान नगरपालिका १९ गाढास्थित आँप बगैँचाबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय १ एम्पुल, डाईजेल्याब २ सय ३८ एम्पुल र नोर्फिन २ सय २० एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिराहा लाहन नगरपालिका ३ का २६ बर्षीय प्रविण कुमार यादव र सोही ठाउँ बस्ने २९ बर्षीय अर्जुन कुमार महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय लहान र शसस्त्र प्रहरी बल लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले स ७ प ९३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल सवार महतोले प्लाष्टिकको ग्यालिनभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।



लाेकपाटी न्यूज

