सवारी दुर्घटनामा ८ को मृत्यु (नामसहित)

लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख । आज सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। रामेछाप, महोत्तरी, धादिङ, सिन्धुली, सप्तरी, बाँके, सर्लाही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु भएको हो।

रामेछापको मन्थली नगरपालिका २ लिपे खोलास्थित सडकमा बा.३ ख ३२६१ नम्बरको गुडिरहेको बसबाट खसेर आइतबार बिहान गम्भीर घाइते भएकी बसमा सवार सोही नगरपालिका २ टेकनपुर बस्ने १९ वर्षीया सुमित्रा कार्कीलाई तामाकोशी सहकारी अस्पताल हुँदै थप उपचारको लागि धुलीखेल अस्पताल काभ्रे लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । सोही दुर्घटनामा घाइते भएकी बसमा सवार सोही ठाउँ बस्ने १७ वर्षीया मनिषा कार्कीको धुलीखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरीको पिपरा गाउँपालिका ५ जनक नगरीस्थित सडकमा ना.५ ख ६१३५ नम्बरको बसले आइतबार बेलुका ठक्कर दिँदा साईकलयात्री पिपरा गाउँपालिका ७ बस्ने २५ वर्षीय राज मुखियाको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धादिङको गजुरी गाउँपालिका २ मलेखु बजारस्थित सडकमा ना.१३ प ७७७१ नम्बर र ग.५ प ५२१५ नम्बरका मोटरसाइकल वैशाख ८ गते एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका ना.१३ प ७७७१ नम्बरको मोटरसाइकल चालक बेनिघाट रोराङ गाउँपालिका ४ बस्ने ४० वर्षीय बेद बहादुर सार्कीको नर्भिक अस्पताल काठमाडौंमा उपचारको क्रममा आइतबार बेलुका मृत्यु भएको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका ६ रिठ्ठे बेंसीस्थित विपि राजमार्गमा बा.६० प ९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा कमला नगरपालिका २ बस्ने ३३ वर्षीय राजेश कुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरि सप्तरीको खड्क नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा स।५ प ८३६१ नम्बरको मोटरसाइकलले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका साईकलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीय विन्देश्वर साहको उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

त्यस्तै बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवास्थित सडकमा भे.१ त ४९४० नम्बरको ट्याक्टरले आइतबार साँझ ठक्कर दिँदा सोही गाउँपालिका ५ सर्वराजपुरुवा बस्ने हजारी बेहनाको १० वर्षीय छोरा ईरखान बेहनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिका ११ स्थित सडकमा बा.२९ प ८३१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका १० सुकपोखरी बस्ने ३८ वर्षीय राजेश श्रेष्ठलाई उपचारको लागि नमूना अस्पताल हरिवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

त्यस्तै झापाको मेचीनगर नगरपालिका १२ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे.१ ज २०५९ नम्बरको बोलेरो गाडीले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री ताप्लेजुङ साविक सिकैचा ८ बस्ने ३२ वर्षीय दिपेश पौडेलको उपचारको लागि बी एन्ड सी अस्पताल विर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बोलेरो गाडी र चालक झापा मेचीनगर नगरपालिका १२ बस्ने ३५ वर्षीय विष्णु चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा आवश्यक उद्दार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्