काभ्रे, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका अधिकांश काम यसै वर्षभित्र सक्ने गरी काम अघि बढाउने बताएका छन्। उनले केही संरचना बाहेक अन्य पुनर्निर्माणका काम सकिने गरी काम गरिने बताएका हुन्।
एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मार्फत निर्माण भएको ३६ कोठे विद्यालय भवनको काभ्रेमा आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पुनर्निर्माणलाई कामलाई गति दिएको उल्लेख गरे। धरहरा लगायतका केही संरचना एक वर्ष भित्रमा नसकिने उल्लेख गर्दै उनले कला, वास्तुकला, सामान लगायतमा ध्यान दिनुपर्दा त्यसमा समय लाग्ने बताए।
बुधबार बिहान भूकम्प गएको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले भुकम्प प्रतिरोधी घर बनाउन सचेत गराए। नेपालको परिचय फेर्नुपर्ने बताउँदै उनले डिजिटल, शिक्षित र विद्वान् नेपाली बस्ने देशको परिचय दिनुपर्ने धारणा राखे।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकूलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको नेतृत्वमा चलाइएको विद्यालय भर्ना अभियानमा ३ लाख बालबालिका भर्ना भएको बताए। प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २० महिनाभित्र सबै क्षतिग्रस्त विद्यालय भवन निर्माण सक्ने दाबी गरे।
एडीबीका राष्ट्रिय निर्देशक मुख्तार खामुद खानोबले विभिन्न ९ नमुना विद्यालय निर्माण गरिरहेको जानकारी दिए । ११ करोड २४ हजारको लागतमा बनेको ३ वटा भवनमा ३६ कोठा छन् । छात्रावाससहितको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर ल्याबलगायतका सुविधा छन् । जिल्लाको नमुना विद्यालयमा ७ सय २७ विद्यार्थी अध्ययनरत रहेका छन् ।



लाेकपाटी न्यूज

