नेकपाका सचिवले दिए राजीनामा

Dadhiram Nyaupane
लाेकपाटी न्यूज

बुटवल, १० वैशाख। नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको सचिवमा मनोनित गरिएका दघिराम न्यौपाने ‘माधव’ले उक्त पदबाट राजीनामा दिएका छन्।

पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भएकाले उक्त पदमा नैतिकताका आधारमा बस्न नसक्ने भन्दै उनले पार्टी हेड्क्वाटर र प्रदेश प्रमूखलाई लिखित रुपमा राजीनामा बुझाएका हुन्। तत्कालिन माओवादीको पोलिटव्युरो सदस्यसमेत रहेका शर्माले घटुवाको पद आफ्ना लागि स्वीकार्य नभएको बताए।

उनले भने ‘पार्टीको केन्द्रीय सदस्य हुदाँहुँदै सोही पार्टीको जिल्ला सचिवमा बस्न नसुहाउने भन्दै उक्त जिम्मेवारीबाट राजीनामा दिए।’ पार्टी केन्द्रले नाम सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाएका न्यौपानेले सचिव बाहेकको अन्य पदमा भने आफू यथावत रहेको पनि स्पष्ट पारे।

उनले सो पदमा यसअघि नै जिल्लामा सहमती भइसकेकोले नारायण बहादुर जिसी निर्मललाई प्रस्ताव गरेका छन्।राजीनामासँगै उनले उक्त प्रस्ताव पनि गरेका हुन्। मंगलबार पार्टी हेडक्वाटरमा इमेलमार्फत् तथा बुटवलमै रहेका प्रदेश संयोजक एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएका हुन्।

उनले भने ‘राजीनामा बुझाई सकें, अब पार्टीले उक्त पदमा अर्को व्यक्तिलाई पढाउने विश्वास छ।’ बुटवल उपमहानगरपालिकाका मेयर तथा पार्टीका प्रदेश सदस्य शिवराज सुवेदीलाई अध्यक्षमा तथा प्रदेश सांसद एवं पार्टीका केन्द्रीय सदस्य न्यौपानेलाई सचिवमा मनोनित गरिएको थियो।

यसअघि नै रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र सचिवमा नारायण जिसीको नाम सिफारिस भएको थियो। रुपन्देहीको अध्यक्षको जिम्मेवारी बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई दिएपछि भट्टराईले पनि असन्तुष्टि जनाएका छन्।

भट्टराईले पार्टीको नीतिगत निर्णय गलत गरेको बताए। ‘पद नभएकालाई पद छैन। पदमा रहेकालाई थपेर दिइयो। पार्टीले के आधारमा छनौट गर्‍यो, म त अचम्ममा परे,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्