सप्तरी, ३० चैत । नेपालकै जेष्ठ नागरिक रघु बहरखेरको निधन भएको छ । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी बहरखेरको १ सय ३१ वर्षको उमेरमा निधन भएको हो । उनको शुक्रबार दिउँसो आफ्नै निवासमा निधन भएको हो ।
जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका बहरखेरले हजारौँ पुश पालेका थिए। उनले हजारौँ गाईबस्तु र अर्नालाई परिवारको सदस्यजस्तै गरेर पाल्ने गरेको स्थानीयवासी बताउँछन्। उनी नेपालको सबैभन्दा ठूलो ग्वाला भएको र उनका अहिले पनि कोशी क्षेत्रमा हजारौँ पशुहरु रहेको शिवराम यादव बताउँछन्।
सो क्षेत्रका स्थानीयहरुले उनको बारेमा विभिन्न कथाहरु सुनाउने गरेको र उनी त्यो क्षेत्रकै प्रख्यात मानिस भएको स्थानीय बताउँछन्। बहरखेरले आफ्नो जीवनकालको अधिकांश समय कोशी टप्पुको जंगलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले बताए।
उनी पशुपालमा लागे पनि उनका छोरानातिहरु भने राजनीतिमा लागेका छन्। उनका छोरा भरतलाल पूर्व गाविस उपाध्यक्ष हुन भने नाति हेमन्त अहिले तिरहुत गाउँपालिकाका अध्यक्ष छन्। उनको शनिबार कोशी ब्यारेजमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।



लाेकपाटी न्यूज
