काठमाडौं । उत्तरी छिमेकी चीनले २५ जलविद्युत आयोजनामा लगानी गर्न चासो देखाएको छ। लगानी सम्मेलनका क्रममा नेपालमा रहेको पावर चाईनाको टोलीले गत शनिबार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेट गरी लगानी गर्ने इच्छा व्यक्त गरेको हो।
मन्त्री पुनले पावर चाइनाका अध्यक्ष सोङग डोंगसेङगसँगको भेटमा जलविद्युत क्षेत्रको लागि आफूले आन्तरिक र बाह्य बजार बनाउने भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। उनले पावर चाइनाले लगानी गर्न चाहे सरकार सहजीकरण गर्न तयार रहेको धारणा राखे।
भेटमा पावर चाइनाका अध्यक्ष डोंगसेङगले पावर चाइनाले नेपालका २५ वटा परियोजना बनाउने तयारी गरेको जानकारी दिए। ‘तल्लो अरुण, किमाथांका र आँधीखोलाजस्ता परियोजनामा हामी लगानी गर्न चाहन्छौं, त्यतिमात्र होइन, हामी अफ ग्रिड पावरको क्षेत्रमा पनि काम गर्न ईच्छुक छौ,’ उनले भने।
उनले सरकार, सरकारी कम्पनी र निजी क्षेत्रसँग मिलेर परियोजना निर्माण गर्ने भन्दै त्यसका लागि आफूलाई सरकारको सहयोग आवश्यक रहेको बताए। डोंगसेङगले पछिल्लो एक वर्षमा ऊर्जा क्षेत्रमा भएको नीतिगत कामको प्रशंसा गर्दै नेपाल दक्षिण एसियाकै उर्जा हव बन्न सक्ने धारणा राखे।
चीनले अघि सारेका ३ मोडल नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्नका लागि चीनले ३ फरक मोडल समेत अघि सारेको छ । चिनियाँ पक्षले आफुहरु सरकारसँग मिलेर, निजी क्षेत्रसँग मिलेर तथा पूर्ण स्वामित्वमा नेपालको ऊर्जा क्षेत्रमा लागनी गर्न चाहेको भेटमा चिनियाँ पक्षले बतायो। सहुलियतपूर्ण ऋण, वुट र पिपिपि मोडेलमा नेपालमा काम गर्न ईच्छुक रहेको उनको भनाइ थियो।
शनिबार नै मन्त्री पुनसँग चाइना नेशनल हेवी मेसिनरी कर्पोरेशनका उपाध्यक्ष वाङ वेईगाओले भेटवार्ता गरेका छन्। भेटमा उपाध्यक्ष वेइगाओले नेपालको प्रशारण लाइनमा लगानी गर्न आफ्नो कम्पनी ईच्छुक रहेको धारणा राखे। उनले सरकारको प्राथमिकता रहेको आयोजनाबारे पनि चासो राखे।
जवाफमा मन्त्री पुनले ऊर्जा मन्त्रालयले प्रशारण लाइनको गुरुयोजना सार्वजनिक गरेको भन्दै त्यसैअनुसार काम गर्न आग्रह गरे। ‘हामीले केही समयअघि मात्र प्रशारण लाईनको ४० वर्षे गुरुयोजना सार्वजनिक गरेका छौ, न्यु वुटवल–कैलाली, मैनतारा–त्रिवेणीजस्ता परियोजना पनि हामीसँग छन्, तपाईहरुको विज्ञता र लगानी यसमा लगाउनुहोस्, हामी सहयोग गर्न तयार छौं,’ मन्त्री पुनले भने।



लाेकपाटी न्यूज

