काठमाडौं, १८ चैत। आज अप्रील अर्थात् अप्रील फूल। एकाबिहानै मधेशमा हावाहुरीले दर्जनौंको ज्यान लिएको समाचार धेरैका लागि अपत्यारिलो थियो। कतिले ठाने, ‘फेसबुकेहरुले एकाबिहानै अप्रील फूल मनाएछन्। ठट्टा पनि कति गर्न सकेका होलान् ?’
आइतबार ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो। तर, मौसमविदले यति ठूलो हावाहुरी चल्छ भनेर पूर्वानुमान गरेका थिएनन्। मौसमविद मिनकुमार अर्यालका अनुसार प्रविधिको अभाव र भौगोलिक अवस्थाका कारण ठूलो हावाहुरीको पूर्वानुमान गर्न गाह्रो हुने बताए।
ठूलो हावाहुरी आउँदैछ भनेर पूर्वानुमान गर्न समस्या हुने गरेको मौसमविदको भनाइ छ। नेपालमा सबै खालका मौसमको पूर्वानुमान गर्ने क्षमता नभएकाले आइतबार तराईमा ठूलो हावाहुरी आउने अनुमान गर्न नसकिएको उनले बताए। तर, मौसमविदको औचित्य के भन्ने विषयले सामाजिक सञ्जाल तातेको छ।
तर, समाचार ठट्टा थिएन। यो यथार्थ थियो। आइतबार राति मधेशमा आएको हावाहुरीले दर्जनौंको ज्यान लियो, सयौं घाइते भए। घरबारबिहीन हुनेहरुको कुनै लेखाजोखा छैन। बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। ५ सयभन्दा बढी घाइते भएका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मौसम पूर्वानुमान महाशाखा र मौसमविदप्रति कटाक्ष गरेका छन्। देशमा यति ठूलो बिपत्तिको पूर्वानुमान गर्न नसक्ने मौसमविदको के काम ? फेसबुकमा अशोक देवकोटा लेख्छन्, ‘यत्रो हावाहुरी आउँदा पनि पूर्वानुमान गर्न नसक्ने नेपालको मौसम पूर्वानुमान विभाग – मूर्दावाद !’
ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन। धेरै मानिसहरु घाइते भएपछि उनीहरुको उपचारका लागि रगत अभावभएपछि नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण नै रक्तदानमा जुटेका छन्।
आइतबार साँझ बारा, पर्सा, रौतहट लगायतका जिल्लामा आएको हुरी यस वर्षकै शक्तिशाली भएको मौसमविदहरुले बताएका छन्। हावाहुरीले घरका छाना मात्र उडाएन, ठूलठूला रुखसमेत ढलेर सडक अवरुद्ध भएको छ। हावाहुरीका कारण मधेशको जनजीवन नै अस्तव्यस्त भएको छ।
हुरी यति शक्तिशाली आयो कि बाटोमा गुडिरहेका ट्रकसमेत एकाएक पल्टिए। आइतबार साँझको हावाहुरी २०७२ मा आएको महाभूकम्पभन्दा पनि शक्तिशाली थियो। भूकम्पका बेला पनि सडकमा गुडिरहेका सवारी साधन पल्टिएका थिए। आइतबार पनि त्यस्तै दृश्य देखियो।



लाेकपाटी न्यूज

