काठमाडौं, १४ चैत । गत चैत ४ गतेको मन्त्रीपरिषद् बैठकले ७० वर्ष उमेरमाथिका नागरिकको स्वास्थ्य बीमाको सबै जिम्मा लिनेगरी नियमावली स्वीकृत गरेको छ।
स्वास्थ्य बीमा नियमावली २०७५ ले ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाअन्तर्गत उपचार सुविधाको व्यवस्था गरेको हो। नियमावलीअनुसार ज्येष्ठ नागरिकले एक लाख रुपैयाँसम्म निःशुल्क सुविधा पाउँनेछन् ।
यसअघिको व्यवस्थामा ज्येष्ठ नागरिकको उपचार सुविधाबारे कुनै उल्लेख थिएन । अहिले ज्येष्ठ नागरिकलाई छुट्टै इकाइका रुपमा समावेश गरिएको छ । बीमा रकम समेत सरकारले ब्यहोर्ने गरी ज्येष्ठ नागरिकलाई परिवारका अरु सदस्यको अतिरिक्त एक लाख रुपैयाँको सुविधा प्रदान गर्ने भएको हो। यो नियमावलीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए।
यस्तो छ नयाँ व्यवस्था
सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने परिवारले दुई जना ज्येष्ठ नागरिक सहित ५ जनाको छ भने तीन लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछ । नयाँ व्यवस्थाअनुसार एउटा परिवारमा ५ जनासम्मको ३ हजार ५ सय र त्यो भन्दा बढी सदस्य भए हरेक सदस्य बापत थप ७ सय रुपैयाँ तिर्नुपर्छ ।
यसअघि ५ जनासम्मका लागि २ हजार ५ र थप सदस्यका लागि ४ सय २५ रुपैयाँ अतिरिक्त बीमा शुल्क तिर्नुपथ्र्यो । यसअघि स्वास्थ्य बीमा अन्तर्गत ५० हजार रुपैयाँ बराबरको सुविधा पाउने व्यवस्था गरिएको थियो । तर, अहिले दोब्बर गरिएको छ । परिवारको एक जनाले बर्षेनि १० हजार रुपैयाँ बराबरको उपचार सुविधा पाउने गरेकामा अब यो रकम २० हजार रुपैयाँ भएको छ ।
नयाँ व्यवस्थामा सिङ्गो परिवारका लागि ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। तर, ज्येष्ठ नागरिकका लागि बीमा शुल्क लाग्ने छैन । बोर्डका कार्यकारी निर्देशक पोखरेलकाअनुसार परिवारका ५ जनासम्म सदस्यले ३ हजार ५ सय रुपैयाँ तिरे पुग्छ। तर, ६ जना सदस्य भए ३ हजार ५ सयमा थप एक जनाको ७ सय रुपैयाँ जोड्नुपर्छ ।
परिवारमा दुई जना ज्येष्ठ नागरिक भए पनि बीमा शुल्क लाग्ने छैन। यसरी सिङ्गो एक परिवारले परिवारका सदस्यका लागि १ लाख रुपैयाँसम्मको र दुई जना ज्येष्ठ नागरिकको थप एकरएक लाख गरी दुईसहित जम्मा तीन लाख रुपैयाँको उपचार सुविधा पाउनेछ । यो एउटा घरको परिवार सदस्यले पाउने वार्षिक उपचार सुविधा हो ।
के छ सुविधा प्याकेजमा ?
पहिलो प्याकेज ३ हजार ५ सय रुपैयाँ तिरेपछि १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाइन्छ । यो सबैले उपयोग गर्न पाउने प्याकेज हो । दोस्रो ज्येष्ठ नागरिकको प्याकेट जस्तै ७० वर्षमाथिका बा, आमा दुई जना भए दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाइन्छ । यसका लागि बीमाशुल्क तिर्नु पदैन । ज्येष्ठ नागरिकको हकमा थप रकम ७ सय पनि जोडिँदैन ।
उनीहरुको सरकारले नै बीमा रकम तिरिदिने बोर्डका कार्यकारी निर्देशक पोखरेलले बताए। तेस्रो प्याकेजमा ज्येष्ठ नागरिकको उपचार सुविधा लिइसकेपछि पनि परिवारका सदस्यले पाउने एक लाख रुपैयाँसम्मको सुविधाबाट समेत आवश्यक परे उपचार सुविधा लिन सकिन्छ ।
बीमा कार्यक्रममा कसरी सहभागी हुने ?
अहिले स्वास्थ्य बीमा कार्यक्रम ४२ जिल्लामा छ । ती जिल्लाका स्थानीय तहका वडासम्म नै दर्ता सहयोगी परिचालन भएका छन् । उनीहरु घरदैलोमै पुगेका हुन्छन् । सदस्यता दर्ता गर्न फोटो भएको परिचयपत्र दर्ता सहयोगीलाई देखाउनुपर्छ ।
नाबालिगको लागि जन्म प्रमाणपत्र वा अभिभावकको परिचय खुल्ने कागजपत्र भए पुग्छ । ज्येष्ठ नागरिक भएको खण्डमा पनि यथार्थ जानकारी दिनुपर्छ। सरकारले उपलब्ध गराएको गरिबी परिचयपत्रको आधारमा अति गरिबलाई बीमा रकममा छुटको व्यवस्था छ।
बीमा पछि पाइने उपचार सुविधा के ?
सरकारबाट निःशुल्क उपलब्ध हुने स्वास्थ्य सेवा यथावत रहन्छन्। त्यसबाहेक बीमा गर्ने व्यक्तिले तोकिएको अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य शल्यक्रिया लगायतका सेवा प्राप्त गर्न सक्छ। तर, तोकिएको मूल्यभन्दा बढी रकम लाग्ने चस्मा, श्रवणयन्त्र जस्ता सामग्री पाइँदैन ।
त्यस्तै प्लाष्टिक सर्जरी, कृत्रिम गर्भाधान लगाएतका सेवामा उपचार सुविधाको व्यवस्था छैन। व्यक्तिगत झगडाका कारण चोटपटक लागेमा, लागूपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा पनि यो सेवा पाइँदैन ।
बिरामी परे कसरी सेवा लिने ?
बीमा गरेपछि प्राप्त कार्ड कार्यान्वयन हुन कम्तिमा दुई महिना लाग्छ । जस्तै, चैतमा बीमा गरेको खण्डमा जेठ १ गतेदेखि सेवा लिन सकिन्छ । दर्ता गर्दा सेवा लिने स्वास्थ्य संस्था रोजेको भए उपचारका लागि पनि त्यहीँ पुग्नुपर्छ । सकेसम्म सरकारी अस्पताल नै पहिलो रोजाई हुनुपर्ने निर्देशक पोखरेलले बताए। यदि पहिलो रोजाईको अस्पतालबाट सेवा प्राप्त भएन भने अन्त पनि जान सकिन्छ । त्यसका लागि सिफारिस पत्र भने चाहिन्छ ।
कस्तो छ नवीकरणको व्यवस्था ?
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइरहन हरेक वर्ष बीमा नवीकरण गर्नुपर्छ । बीमा नवीकरण गर्दा सकेसम्म म्याद सकिनु एक महिना अगाडि नै दर्ता सहयोगीसँग सम्पर्क गर्नुपर्छ ।



लाेकपाटी न्यूज

