काठमाडौं। रुकुमको त्रिवेणी गाउँपालिका घर भएका ओली नेकपाभित्रका प्रमुख वैचारिक नेताको रुपमा चिनिन्छन्। ओली जनयुद्ध कालमा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्यका रुपमा रहेर काम गरेका थिए। पारिवारिक मामिलामा केही विवादमा आएका ओली राजनीतिक र आर्थिक मामिलामा स्वच्छ छविका इमान्दार नेता मानिन्छन्।
सशस्त्र जनयुद्ध कालमा प्रचण्डपथको वैचारिक प्रतिरक्षा गर्ने नेतामा गनिन्थे हेमन्तप्रकाश ओली। ओली नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), माओवादी केन्द्र हुँदै विप्लव नेतृत्वको नेकपामा पुगेका हुन्। मोहन वैद्यले पार्टी विभाजन गर्दासमेत उनी प्रचण्डसँगै थिए। तर, विप्लवले नयाँ पार्टी गठन गरेपछि उनी विद्रोही नेकपातिर लागेका हुन्।
माओवादी केन्द्रबाट अलग भएपछि उनले छुट्टै नेकपा न्यूक्लियस गठन गरेका थिए। त्यसपछि मात्रै उनी विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका हुन्। हाल उनी विद्रोही नेकपामा विप्लव, प्रकाण्डपछि तेस्रो बरियतामा छन्। उनी साहित्यिक र दार्शनिक क्षेत्रमा एचपी हिमालीको नामबाट समेत स्थापित छन्।
शान्ति प्रक्रियापछि कुनै पनि राजनीतिक लाभको पदमा नपुगेका ओली माओवादी आन्दोलनकै माथिल्लो तहका नेतामध्ये इमान्दार र अध्ययनशील नेताको रुपमा चिनिन्थे। उनी लामो जेल जीवन बिताउने नेतामध्ये एक हुन्। यसअघि जनयुद्धको क्रममा उनी २०५५ साल माघ २८ गते बाजुरामा पक्राउ परेर २०५८ असार २१ गते रिहा भएका थिए।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा चासो राख्न थालेका उनी २०३७ सालमा अनेरास्ववियूको सदस्य, २०३९ सालमा रुकुम जिल्ला सदस्य, २०४० मा तत्कालीन प्रतिबन्धित नेकपा मशालको सदस्य, २०४४–०४८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य, विद्यार्थी नेता र पार्टी एरिया सदस्यको हैसियतामा जनआन्दोलनमा सहभागी हुँदै २०४८ सालमा नेकपा एकताकेन्द्रको जिल्ला सदस्य, २०५१ सालमा रुकुम जिल्ला सेक्रेटरी भएका थिए।
२०५२ साल फागुन १ गते जनयुद्धको शुरुवात गर्दा उनी रुकुमको राडी प्रहरी चौकी आक्रमणको कमिसार थिए। २०५४ सालमा भारतको हरियानामा भएको बैठकबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा चयन भएका थिए। एक वर्षपछि बझाङ र बाजुराम कार्यक्षेत्र भएको बेला जेल परेका ओली रिहा भएपछि पुनः २०५५ को गोवा बैठकबाट केन्द्रीय समितिमा सामेल भएर जनयुद्धकालमा कमिसार र राज्यको इञ्चार्जको रुपमा सक्रिय भए।
शान्ति प्रक्रियापछि तत्कालीन राप्ती ब्यूरो इञ्चार्ज हुँदा जनएकता तथा रुपान्तरण अभियानको अगुवाइ गरेका ओली लामो समय मगराज राज्य समिति इञ्चार्जको रुपमा क्रियाशील थिए। अध्ययन र लेखनमा विशेष रुचि राख्ने ओली संगठनमा कम र विचारधारात्मक काममा बढी दख्खल मानिन्छन्।
हाल विद्रोही नेकपाले उनलाई मध्य कमाण्डको ईञ्चार्जको जिम्मेवारी दिएको थियो। शालिन र शान्त स्वाभावका ओली संगठनात्मक कुशलतामा कमजोर रहेकाले पार्टीमा पछि पर्दै आएका नेता हुन्। मध्य कमाण्डको ईञ्चार्ज भएकै कारण उनले फागुन १० गते ललितपुरमा भएको बमकाण्डको जिम्मेवारी लिएका थिए। एनसेल टावरमाथि गरिएको बम हमलामा १ जनाको मृत्यु भएपछि उनी प्रहरीको विशेष निगरानीमा थिए।
शुक्रबार ओलीको गिरफ्तारीपछि विद्रोही नेकपालाई धक्का लागेको छ। ओली विप्लवका हाइकमाण्डका नेता हुन्। विद्रोही नेकपाको हाइकमाण्डमा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर छन्। ओली पार्टीभित्र वैचारिक प्रशिक्षकसमेत मानिन्छन्।



लाेकपाटी न्यूज

