‘झापालाई शान्तिसुरक्षायुक्त नमुना जिल्ला बनाउँछाैं’ : सर्वेन्द्र खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

झापा, ३० फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झापा जिल्लालाई भौतिक साधनस्रोत तथा प्रविधिको सहयोगबाट न्यून प्रहरीको उपस्थितिले अधिकतम शान्ति सुरक्षाको वातावरण सिर्जना गर्ने र मुलुककै नमूना जिल्लाको रुपमा विकसित गर्ने लक्ष्य रहेको बताएका छन् । प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई बिहीबार उक्त कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा यसतो बताएका हुन् ।

उनले सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्धिको चाहनाअनुरुप मुलुकलाई समृद्धितर्फ लैजानका लागि प्रहरी कर्मचारीहरुले जनचाहना अनुरुप इमानदार, अनुशासित र व्यवसायिक भई कार्य सम्पादन गरी शान्तिसुरक्षा अमनचैन कायम एवं भयरहित वातावरण सिर्जना गरी विकास निर्माणको माध्यमले मुलुकलाई समृद्धितर्फ लैजाने कार्यमा सहयोगी भई काम गर्नुपर्ने उल्लेख गरे ।

प्रहरीप्रति नागरिकको भरोसामा कुनै कमी आउन नदिई स्मार्ट पुलिसिङमा विशेष ध्यान दिन उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । सशस्त्र विद्रोह, हातहतियार, लागूऔषध, जघन्य अपराध लगायतका अपराध र अपराधीसँग कुनै सम्झौता नगरी त्यस्ता तत्वलाई कुनै पनि हालतमा कानुनको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए ।

आर्थिक अनुशासनमा शून्य सहनशीलताको नीतिलाई पूर्ण रुपमा अवलम्बन गरी मुलुकको समृद्धि कायम गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुले राष्ट्रको कामलाई आफ्नै काम सम्झी अझै बढी सक्रिय रुपमा काम गर्नुपर्ने प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे । गुण्डागर्दी, तस्करी जस्ता अपराध नियन्त्रणमा उच्च मनोबलका साथ काम गरी सकारात्मक प्रतिफल देखाउनुपर्ने उनको भनाइ छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय तथा कार्यालय परिसरको निरीक्षण समेत गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्