काठमाडौं, २९ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले विध्वशकारी क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताएका छन्। उनले आतंककारी, ध्वंसात्मक गतिविधि सञ्चालन गरिरहेको समूहलाई सरकारले नियन्त्रणमा लिने बताए।
बम विस्फोट र चन्दा आतंक तिव्र बनाएपछि सरकारले मंगलबारको मन्त्रीपरिषद बैठकबाट विप्लव समूहलाई प्रतिवन्ध लगाएको थियो। प्रधानमन्त्रीले त्यस्ता गतिविधि गर्ने सबैलाई कानूनी कारवाही गरिने निर्णय लिएको बताए।
नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने बताए। ‘लुटेरा समूहलाई छुट दिन सकिँदैन’ उनले भने।
उनले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे। लुटपाटको गतिविधिमा संलग्न जो–कोहीलाई सरकारले कानूनबमोजिम कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी छ । ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको बताए।
उनले विप्लव समूहलाई चन्दा नदिने समेत जनप्रतिनिधिसँग आग्रह गरे। ‘स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको छु, नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस्’, प्रधानमन्त्री ओलीको भनाई थियो ।
कार्यक्रममा प्रधानमन्त्रीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए। प्रधानमन्त्री ओलीले देश भ्रष्टाचारको उच्च श्रेणीमा भएकोमा आफूलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा लज्जाबोधको विषय हुने गरेको बताए।
उनले सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे। प्रधानमन्त्री ओलीले देशको हित र कानूनको रीतअनुसार काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गरे।



लाेकपाटी न्यूज

