नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्।
आज कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले सरकार हरेक क्षेत्रमा असफल भइसकेको दावी गरे। ‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन, कहाँबाट यहाँ पानीजहाज आउँछ?,’ सिंहले प्रश्न गरे।
सरकारले पार्टीको स्वार्थअनुसार काम गरेकाले मेलम्ची आयोजना पूरा हुन नसकेको पनि उनले आरोप लगाए। ‘मेलम्चीमा सरकारको असक्षमता देखियो। ठेकेदारको भागाभाग छ। सरकार, सचिव कुरा मिलेको छैन,’ उनले भने।
सरकारले धुलो र हिलोबाहेक केही दिन नसकेको आरोप उनले लगाए। सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ।
सांगाठानिक र वैचारिक रुपबाट प्रष्ट भएर पार्टीलाई विधिसम्मत चलाउन उनले नेतृत्वलाई आग्रह गरे।



लाेकपाटी न्यूज

