भरतपुर । नारायणगढको क्याम्पाचौरमा आजबाट १६ औँ मेयर्स चितवन च्याम्पियनसिप ट्रफी क्रिकेट प्रतियोगिता सुरु भएको छ। चितवन जिल्ला क्रिकेट संघको आयोजनामा २०५७ सालदेखि निरन्तर हुँदै आएको यस प्रतियोगिता यस वर्ष पनि क्याम्पाचौरमा सुरु गरिएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज व्याटिङ गरी क्रिकेट प्रतियोगिताको उद्घाटन गरिन्। कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरको रामपुरमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएकै समयमा सकिने बताइन्। उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित स्पोर्टस् एकेडेमी निर्माण गरिने बताइन्। दाहालले सम्पूर्ण नेपालीको रचनात्मक सहयोगको अपेक्षासमेत गरिन्।
कार्यक्रममा उनले भनिन्, ‘स्वदेशको गौरव र गरिमालाई उच्च पार्ने खेल क्षेत्रको विकासका लागि भरतपुर महानगरपालिका निरन्तर लागिरहेको छ।’ उनले रंगशाला तोकिएकै समयमा सक्न महानगरपालिका लागिरहेको बताउँदै भनिन्, ‘अन्तर्राष्टिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजना हो, यो तोकिएकै समयमा सम्पूर्ण नेपालीको सहयोगबाट पूरा हुनेछ।’
कार्यक्रममा प्रमुख अतिथि दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा यदाकदा केही विकास विरोधीहरूले सरकारले गर्नुपर्ने काम नागरिकबाट गर्ने भन्नेजस्ता हलुका र अनग्रल टिप्पणीहरू भइरहेको भन्दै दुःख प्रकट गरिन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जनताको अपनत्वको लागि सुरु गरिएको बताइन्। दाहालले मेयर्स चितवन च्याम्पियनसीप ट्रफी क्रिकेट प्रतियोगिताको सफलताको कामना गर्दै सन्दिप लामिछानेले क्रिकेट सिकेको जिल्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु अझ गौरवको कुरा भएको बताइन्।
क्यान चितवनका अध्यक्ष कैलाश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडीहरुले चितवनलाई क्रिकेटसहित खेलको राजधानी बनाउने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको योजनालाई सफल बनाउने प्रतिबद्धता गरेका थिए। कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष परमेश्वर खनालले पछिल्लो समय खेल क्षेत्रको विकास भइरहेको बताए। क्यान अध्यक्ष प्रधानले क्रिकेट रंगशाला निर्माणका लागि सबैलाई सहयोग गर्न आग्रह गरे।
प्रतियोगितामा कुल ६ टिम सहभागी भएका छन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा चितवन क्रिकेट क्लब, मकवानपुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमी छन्। समूह ‘बी’मा भरतपुर क्रिकेट क्लब, वाईवाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी र वीरगन्ज क्रिकेट क्लब रहेका चितवन जिल्ला क्रिकेट एसोसिएसनका सचिव उमेश पियाले जानकारी दिए।
प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो दिन २–२ खेल खेलाइने छ भने अन्तिम दिन फाइनल गरिने छ। समूह चरणमा हरेक टिमले दुई खेल खेल्ने छन्। प्रतियोगिता जित्नेले नगद एक लाख रूपैयाँसँगै ट्रफी र मेडल र दोस्रोले पचास हजार रूपैयाँ, ट्रफी र मेडल पाउने छ।
प्रतियोगिता अवधिभर हरेक खेलमा ‘म्याद अफ दी म्याच’ पुरस्कार तीन हजार रूपैयाँ र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यानलाई पाँच हजार र ट्रफी, उत्कृष्ट बलरलाई पाँच हजार र ट्रफी तथा उत्कृष्ट खेलाडीलाई दस हजार रूपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।



लाेकपाटी न्यूज

