काठमाडौं, १७ फागुन । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये पाँच जनाको अन्तिम संस्कार पशुपतिस्थित आर्यघाटमा हुने भएको छ ।
मन्त्री अधिकारी र व्यवसायी आङछिरिङ शेर्पाबाहेक अन्य पाँच जनाको अन्त्येष्टि शुक्रबार पशुपति आर्यघाटमै गरिन लागेको हो ।
बुधबार ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाएका थिए ।
मन्त्री अधिकारीको पोखरामा र व्यवसायी शेर्पाको भने आज र भोलि बालुवाटारस्थित घरमै राख्ने र आइतबार अन्तिम संस्कार गरिने बताइएको छ।
यसअघि आजै सातै जनाको शव टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइएको थियो ।



लाेकपाटी न्यूज

