काठमाडौं, १६ फागुन । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट देशले विद्यार्थी भाडा सहुलियतका नायक गुमाएको छ । मन्त्री अधिकारीकै सक्रियतामा विद्यार्थीलाई गाडी भाडामा छुट दिने व्यवस्थाको कार्यान्वयन गरिएको थियो ।
मन्त्री अधिकारी विद्यार्थी नेता भएको बेला उनकै सक्रियतामा वि.सं.२०५९ सालमा विद्यार्थीलार्ई गाडी भाडामा ३३ प्रतिशत छुट गराइएको हो । अधिकारी त्यसबेला माले निकट अनेरास्ववियुको अध्यक्ष थिए । माले निकट अनेरास्ववियुले गाडी भाडामा ५० प्रतिशत सहुलियत माग गर्दै आन्दोलन गरेको थियो । आन्दोलनमा स्याङ्जाका देवी पौडेलले आफ्नो जीवनसमेत गुमाएका थिए । विद्यार्थीहरुले भाडा छुट माग गरे पनि यातायात व्यवसायीले लामो समयसम्म त्यसलाई अस्वीकार गरिरहेका थिए ।
आज विद्यार्थीले पाउने गाडीभाडा छुटमा मन्त्री अधिकारीको योगदान झल्किरहेको छ ।
विद्यार्थीहरुले गाडी भाडामा सहुलियत माग्दै आन्दोलनलाई निरन्तरता दिएपछि व्यवसायीहरु २५ प्रतिशतसम्म छुट दिन सहमति भए । तर, आन्दोलनका नेतृत्व गरिरहेका अनेरास्ववियुका अध्यक्ष अधिकारी, ठाकुर गैरे र कृष्ण केसी लगायतका विद्यार्थी नेताहरूले ५० प्रतिशतमा अडान लिएपछि तत्कालीन यातायात व्यवस्थामन्त्री पाल्तेन गुरुङले व्यवसायी र विद्यार्थी दुबै पक्षको मध्यमार्ग हुने ३३ प्रतिशत छुट दिने सहमति गराएका थिए ।
अधिकारीको सक्रियताकै कारण भएको विद्यार्थी सहुलियत अहिले ४५ प्रतिशत पुगेको छ । विद्यार्थीले पाउने भाडा छुटमा मन्त्री अविस्मरणीय छ ।



लाेकपाटी न्यूज

