काठमाडौं, १५ फागुन । नेपाली काँङ्ग्रेसले ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेताका अलाबा व्यक्तिगत रुपमा भद्र र सुयोग्य व्यक्तित्व भएको बताएका छन् ।
सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको देउवाले समवेदना सन्देशमा उल्लेख गरेका छन् ।
दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्रार्र्थना गर्दै पार्टीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ ।



लाेकपाटी न्यूज

