काठमाडौं । उनी बाल्यकालदेखि नै साहित्यमा रुचि राख्दथे । उनले विद्यालयमा पढ्दा महिनामा एकपटक कविता तथा गायन प्रतियोगितामा भाग लिने गर्दथे । विद्यालय स्तरीय प्रतियोगितामा उनले विभिन्न पुरस्कारहरु समेत जितेका थिए । सानैदेखि साहित्यमा रुचि राख्ने उनी उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा सरकारी जागिरे छन् । तर, फुर्सदको समय उनले साहित्य र सिर्जनाकै लागि छुट्टाउने गरेका छन् । एक दर्जनजति गीत लेखेका नेपाल सरकारका अधिकृत रामचन्द्र ढकाल सिर्जनालाई जीवनको उर्वराभूमि ठान्छन् ।
साहित्य सिर्जना सजिलो छैन, त्यसमाथि १० देखि ५ बजेसम्मको औपचारिक जागिर । नागरिकको गुनासो सम्बोधनमा उनी उत्तिकै व्यस्त छन् । सिर्जनाका लागि साधना चाहिन्छ । तर, जेनतेन समय निकाल्छन् ढकाल । साहित्य र र्सिजना कर्मसँग सम्बन्धित रहेर लोकपाटीका प्रदीप अधिकारी र मधुरिमा पाण्डेयले गरेको कुराकानी ।
साहित्य विधामा कहिलेदेखि कलम चलाउन शुरु गर्नुभयो ?
मेरो स्कूले जीवन गोरखाको हर्मी भन्ने ठाउँमा बित्यो । मलाई बच्चैदेखि साहित्यिक क्षेत्रमा रुचि थियो । म तीन कक्षादेखि नै कविता प्रतियोगितामा भाग लिन्थें । तर, मैले कक्ष ७ मा पढ्दा पहिलो कविता लेखेँ, जुन स्वदेश गान थियो । यो नै मैले लेखेको पहिलो कविता हो र यसबाट मैले स्कूलमा प्रथम पुरस्कार जितेको थिएँ । त्यसपछि थुप्रै पत्रपत्रिकामा मेरा मेरा कविता तथा लेखहरु प्रकाशित भए ।
अहिलेसम्म कति वटा गीत र कविता लेख्नुभयो ?
बच्चामा लेखेका सबै कविता त अहिले मलाई स्मरण छैन । तर, औपचारिक लेखनको शुरुवात गरिसकेपछि मैले अहिलेसम्म एक दर्जन गीत लेखिसकेको छु । जसमध्ये एउटा सार्वजनिक भइसक्यो । तपाईले युटुवमा यसको भिडियो पनि हेर्न सक्नुहुन्छ । ‘कति म सम्झुँ’ नामक गीतको भिडियो युट्युवमा उपलब्ध छ । त्यस गीतमा मेलिना राइले स्वर दिएकी छिन् ।
तपाईका कुन–कुन गीत बजारमा आउने तयारीमा छन् ?
मेरो ‘डरायो र हुरी करायो’ भन्ने गीत छिट्टै बजारमा आउँदै छ । सत्य र स्वरुपराज आचार्यले स्वर दिने भएका छन् । यसपछि छोरी बिदाई गर्दा आमा–बुबालाई हुने पीडाको बारेमा पनि लेखेको छु । यस्ता थुप्रै विभिन्न विधाका गीतहरु बजारमा आउने तयारीमा छन् ।
पूराना गीतहरु र अहिलेका नयाँ आधुनिक गीतहरुमा कस्तो भिन्नता छ जस्तो लाग्छ ?
पूराना र नयाँ गीतहरुमा धेरै भिन्नता आएको पाएँ मैले । पूराना गीतहरु हामै्र स्थानीय परिवेशका हुन्थे । आफ्नै स्थानीय शैली र मौलिक परम्परा झल्किन्थ्यो भने अहिले बजारमा आधुनिकताको नाममा केही छाडा प्रवृत्तिका गीतहरु पनि आएका छन् । हुन त समयअनुसार दर्शक तथा स्रोताका आवश्यकता र रुचिमा पनि परिवर्तन आएको पाइन्छ ।
अहिलेको गीतमा शब्दको वजन छैन । गीतमा क्वालिटीयुक्त शब्दहरु भेटिदैनन् । हुन त सबैको ‘टेष्ट’ फरक हुन्छ । सबैलाई एउटै खाले गीत मन पर्ने भए विविधता नै भेटिदैनथ्यो । तर, अहिलेका गीतहरु पश्चिमी टे«ण्डतिर गइरहेकोजस्तो भान हुन्छ ।
तपाइलाई मनपर्ने गीत कुन हो ? कुन गायक गायिकालाई तपाई बढी रुचाउनु हुन्छ ?
मलाई सत्य स्वरुपको ‘उडेर जुन छुन्छु भन्थे’ भन्ने बोलको गीत असाध्यै मनपर्छ । म यो गीत बेला–बेला गुन्गुनाई रहन्छु । मलाई पीडा तथा वेदना बोकेका आधुनिक गीतहरु बढी मन पर्छन् । सत्य स्वरुपपछि मलाई प्रमोद खरेल र अन्जु पन्त मन पर्छन् । नारायण गोपालका गीतहरु पनि मेरा लागि कर्णप्रिय लाग्छन् ।
तपाई उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा काम गर्दै हुनुहुन्छ । गीत लेखनका लागि समय कसरी मिलाउनु हुन्छ ?
समय निकाल्नु पर्छ । दिनभरी त म अफिसको काममै बिजी हुन्छु । तर, खाली समय तथा बिदाका दिनमा म गीत रचना गर्छु । साहित्यिक कार्यक्रममा सहभागी हुन्छु । गायक गायिकाहरु तथा सङ्गीतकारसँग मेरो भेट भइरहन्छ । म विशेषगरी बिहानतिर गीत लेख्छु । विशेषगरी गीत २ वटा कुरा भयो भने आउँछ । एउटा हामी असाध्यै दुखी छौँ भने अर्थात् वितृष्णा भयो भने अर्को कुरा खुशी हुँदा पनि गीतहरु फुर्छन् । सामान्य अवस्थामा गीत लेख्न सकिँदैन । मैले यात्राको समयलाई पनि सदुपयोग गर्ने गरेको छु । कहिलेकाहीँ यात्रा गर्दा त्यहाँ देखेका तथा भोगेका कुराबाट पनि गीत बनाउन सकिन्छ ।
तपाईलाई गीत लेख्ने इच्छा कहाँबाट आयो ? तपाई आफ्नो प्रेरणाको स्रोत कसलाई मान्नु हुन्छ ?
मैले अघि पनि भने साहित्यमा मलाई बच्चादेखि नै रुचि थियो । मलाई ‘फ्यामिली सपोर्ट’ पनि छ । म पहिले नारायण गोपालका गीतहरु खुब सुन्थे । मलाई उनका गीतहरु एकदमै मन पर्छन् । उनीबाटै मैले गीत लेख्ने पे्ररणा पाएको हुँ । यस्तै धुर्मुस–सुन्तलीले पनि मलाई ‘टेलिश्रृङ्खलाहरुमा आउनुहोस्, सँगै मिलेर काम गरौँ’ भन्नु हुन्छ । मलाई साहित्य तथा कलाका क्षेत्रमा लाग्न धेरै मानिसहरुले ‘इन्करेज’ गर्नु हुन्छ ।

यस क्षेत्रबाट केही विशेष उपलब्धि हासिल गर्नुभएको छ कि मनोरञ्जनका लागि मात्र लेख्नु हुन्छ ?
यो क्षेत्र विशेषगरी मेरो रुचिको विषय हो । पोहोर मात्रै मेरो पहिलो गीत बजारमा आयो । यस गीतबाट मैले केही सम्मान पाएको छु । रामवरण यादवबाट मैले शिखा नेपाल अवार्ड पाएको छु भने नेकपा अध्यक्ष प्रचण्डबाट मैले इपिक नेपाल अवार्ड पाएको छु । यसलाई म आफ्नो उपलब्धि नै ठान्छु । घर परिवारमा आफन्त तथा छोराछोरीले ‘हजुरको गीत सुनेको थिएँ राम्रो छ’ भन्दा अवार्ड जितेभन्दा ठूलो खुशी मिल्छ ।
गीत के हो जस्तो लाग्छ तपाईलाई । गीत कस्तो हुनुपर्छ ?
गीत भनेको भावना हो । कस्तो भावना भने समाजमा घट्ने घटनाहरुलाई संश्लेषण, विश्लेषण र एकत्रित गरेर बनाएको शब्द समीकरण नै गीत हो । गीत यर्थाथपरक हुनुपर्छ जस्तो मलाई लाग्छ । गीतले हाम्रो राष्ट्रिय तथा स्थानीय भाषा, संस्कृति, रहनसहन, अभाव, बाध्यताजस्ता कुराको पनि झल्को दिन सक्नुपर्छ । आजकालका गीतहरुमा पश्चिमी प्रभाव बढी पाइन्छ । तर, गीतले आफ्नो मौलिकतालाई छोड्नु हुँदैन । गीतले हाम्रो भूगोल बोल्नुपर्छ । यो सञ्चारको सशक्त माध्यम पनि हो । यो संस्कार र संस्कृति बुझाउने माध्यम पनि हो ।
तपाई अब गीत लेखनलाई अगाडि बढाउनु हुन्छ कि यत्तिकै छोड्नु हुन्छ, अबको योजना के छ ?
अहिले म खानेपानीको क्षेत्रमा कार्यरत भएर गीत लेखनमा बढी समय दिन पाएको छैन । जब म यो कामबाट अवकाश पाउँछु म आफूलाई गीत लेखनमा समर्पित गर्न चाहन्छु । यस क्षेत्रमा म कति अगाडि बढ्न सक्छु, त्यो त समयले देखाउनेछ ।



लाेकपाटी न्यूज

