* इयर- आइ डोन्ट नो *
म कहाँ छु ?
यो कस्तो दुनियाँ हो ?
* इयर- 2010 *
मेरो आत्माले महसुस गर्न सक्छ !
– मलाई कसैले कतै जलाइरहेको छ !
– मलाई कसैले कतै पुरिरहेको छ !
* इयर- 2008 *
तपाईंले मृत्युलाई देख्नुभएको छ ?
छैन, तर यमराजले देखेको छ ।
तपाईंले यमराजलाई देख्नुभएको छ ?
छैन, तर मृत्युले देखेको छ ।
मसानघाट, जहाँ मृत शरीरलाई गाढिन्छ । आर्यघाट, जहाँ मृत शरीरलाई जलाइन्छ । बाटो फरक भएपनि गन्तव्य एउटै छ यी घाटहरुको, कम्तिमा मलाई यस्तै लाग्छ !
म मरेपछि मेरो मृत शरीरलाई दुई भागमा चिर्नुहोला । एउटा भागलाई जलाइदिनुहोला अनि अर्को भागलाई गाढिदिनुहोला ।
म दुई फरक बाटो भएर एउटै गन्तव्यमा पुग्न चाहन्छु ।
किन भनेर नसोध्नुहोला ।
मेरो आमा जलेर खरानी भइन् ! बुबा माटोमुनि कङ्काल हुनुभयो !
* इयर- 2006 *
म एउटा लासलाई गाढिरहेको छु । आफ्नै बुबाको लासलाई !
हात काँपिरहेका छैनन् । म गलिरहेको छैन । पग्लिरहेको छैन ।
मैले यस्ता लासहरु धेरै नै गाढिसकेँ ! धेरै नै जलाइसकेँ !
बरु सोच्दैछु- जीवन पाएको मैले सँधै किन मृत्युको बारेमा मात्रै खोजिरहेँ ? सोचिरहेँ ?
मृत्युको बारे लेख्न घर छाडेर भट्किरहे घाटहरुमा !
एउटा घटिया घाटेले भनेको थियो- ‘मृत्युलाई तिमीले कहिल्यै बुझ्न सक्दैनौं ! बुझ्नको लागि मृत्युलाई तिमीले गन्तव्यसम्म पुर्याउनुपर्छ !’
म ट्वाल्ल परेको थिएँ !
मैले त्यही रातबाट मृत्युलाई गन्तव्यमा पुर्याउने काम गर्न थालेँ । लासहरु जलाउने काम गर्न थालेँ । मुर्दाहरुलाई गाड्ने काम गर्न थालेँ !
अहिले म आफ्नै बुबालाई गाढ्दैछु ।
तर, पनि मेरा आँखाहरु पग्लिएका छैनन् !
* इयर- 2004 *
“तँलाइ घरको मतलब छैन ?” कसैले थर्कायो मलाई !
म मौन भएर उसलाई सुनिरहेँ !
‘तेरो घरमा आगलागी भयो ! घर पुरै खरानी भयो !
तेरी आमा पनि खरानी भइन् ! तेरो बुबालाई अस्पतालमा लगिएको छ ! बाँच्ला जस्तो छैन !’
म काँप्न थालेँ ! गल्न थालेँ ! पग्लन थालेँ ! जल्न थालेँ !
* इयर- 2002 *
मृत शरीर अमृत’झैं लाग्छ मलाई- पवित्र ! म पवित्र काम गर्छु ! मृत शरीरलाई जलाउने, गाढ्ने काम गर्छु । उनीहरुलाई गन्तव्यसम्म पुर्याउने काम गर्छु ।
अक्सर मान्छेहरुले मलाई सोध्ने गर्छन्, ‘तपाईं किन यस्तो काम गर्नुहुन्छ भनेर !’
प्रतिउत्तरमा म फिस्स मुस्कुराइदिन्छु मात्रै । मलाई नै थाहा छैन कस्तो किसिमको सन्तुष्टि पाँउछु म यस्तो कामबाट । तर, मलाई यही काम मनपर्छ ।
* इयर- 2000 *
मलाई रात एकदमै मन पर्छ । रातलाई आफ्नो नाङ्गो आँखाले छामिरहँदा मलाई राहत महसुस हुन्छ ।
रातको रंग मायावी लाग्छ मलाई- कालो, अँध्यारो, अन्धकार !
म भित्र पनि त अन्धकार छ । नपत्याए हेर्नुस् त, जुन चम्किरहेको होला ।
म धेरै निदाउँदिनँ । मलाई रातसँग जिस्किन मन लाग्छ । यस्तै सुहाना रातको अन्धकारमा अक्सर अपरिचित मान्छेहरु घाटमा लासहरु छाडेर जाने गर्छन् – विभिन्न उमेरका लासहरु ! विभिन्न आकारका लासहरु !
म तिनै बेबारिसे लासहरुलाई जलाउने, गाढ्ने काम गर्छु मध्य रातमा ।
मान्छेहरु मलाई ‘जल्लाद’ भन्ने गर्छन् !
* इयर- 1998 *
मेरो काम नै यही बनेको छ- घाट, मुर्दाघर, चिहानको अध्ययन गर्ने, अनुसन्धान गर्ने । धेरै पहिलेबाट सोच बनाएको छु- घाटको बारे एउटा ‘डार्क थ्रीलर’ किताब लेख्ने ।
आमाबुबाले भन्नुहुन्छ- ‘घाटमा कथा होइन आत्माहरु मात्रै भेटिन्छन् ।’
म भन्छु- ‘आत्माहरुको त कथा होला नि !’
मेरो जवाफ सुनेपछि आमाबुबा हस् भन्नुहुन्छ अनि अरु बहस गर्नुहुन्न !
मलाई लेख्नको लागि एकान्त चाहिएको थियो । लेख्नको लागि घाट भन्दा एन्टिक र एकान्तिक ठाउँ अरु कुनै हुनै सक्दैनन् !
एकदिन कस्तो सोच आयो, झोँकमा आमाबुबालाई भनिदिएँ, ‘म एक वर्षसम्म गायब हुन्छु, मलाई नखोज्नुहोला !’
म हराउन चाहन्थेँ त्यसैले हराएँ । आमाबुबाले खोजे खोजेनन्, मलाई केही थाहा भएन ।
* इयर- 1996 *
म अक्सर सोच्ने गर्छु- मान्छेहरु मरेपछि कहाँ जान्छन् होला भनेर !
कोही फर्किन्छन् कि ? अहिलेसम्म फर्किएको छ कि छैन होला ?
म पहिलैबाट जिज्ञासु स्वभावको !
बुबाआमालाई लाग्छ- म फरक छु । नौलो छु । अचम्मको छु ।
अनौठो छु । असाधारण छु ।
मलाई लाग्छ- म किन यस्तो छु ?
* इयर- 1994 *
बुबाआमासँग म पनि घाट आएको छु ।
मलामी बनेर आएको छु ।
हजुरबुबाको लास चितामाथि जलिरहेको हेरिरहेको छु ।
आफूभित्र प्रश्नहरुको धुवाँ उडिरहेको महसुस गरिरहेको छु ।
* इयर-1992 *
घरको छतबाट खसेर म घाइते भएको छु ।
मलाई अस्पतालको कुनै बेडमा पल्टाइएको छ !
आमाबुबाको आँखाहरु रसिला भएका छन् !
नजिकैबाट एक झुन्ड मान्छेहरु रुँदै आइरहेका छन् । एक जना मान्छे स्टेचर तान्दै छ । स्टेचरमाथि कसैको शरीरलाई कात्रोले छोपेको छ !
मलाई डर लाग्छ !
* इयर-1990 *
घरमा पालेको कालो बिरालोले एउटा मुसालाई आफ्नो मुखमा च्यापेर ल्याउँछ । म त्यसलाई हेरिरहेको छु ।
मुसालाई तड्पाउँदै, खेलाउँदै बिरालोले मार्छ !
अनि लुछ्न थाल्छ, चपाउन थाल्छ, खान थाल्छ मुसालाई ।
म ध्यान दिएर हेरिरहेको छु ।
कालो बिरालोको मुखभरी मुसाको रातो रगत लत्पत्तिएको छ !
* इयर-1988 *
म रुँदै जन्मिएँ । आमाको पाठेघर पनि रुइरहेको छ ।
साँच्चै मेरो मृत्यु भयो कि जन्म ?
* इयर- आइ डोन्ट नो *
म कहाँ छु ?
यो कस्तो दुनियाँ हो ?



लाेकपाटी न्यूज

